दफा ३४
अरू अपराधहरू
प्रहरी कर्मचारीले देहायको कुनै अपराध गरेमा, पाँच वर्षसम्म कैद वा एक वर्षको तलब बराबरसम्म जरीवाना वा दुवै सजाय हुनेछः–
(क) आफ्नो जिम्मामा रहेको सरकारी वा अरू कसैको संयन्त्र, ज्यावल, सरसामान, वर्दि, तानामाना, तक्मा, पदक, नगदी, जिन्सी, सवारीको साधन र इन्धन इत्यादी जानी जानी वा लापरवाही गरी बिगारेमा, नासेमा, हराएमा वा दुरूपयोग गरेमा वा वदनीयतीले आफ्नो वा अरू कसैको निमित्त लिएमा वा दिएमा,
(ख) क्याम्पमा रसद वा अरू चाहिने कुरा ल्याउने व्यक्ति उपर हमला वा बेइज्जत गरेमा वा बल प्रयोग गरी अपराध गरेमा वा कुनै स्थानमा बल मिचाई गरेमा,
(ग) आफू माथिको प्रहरी कर्मचारीले दिएको कानुनी उर्दी नमानेमा,
(घ) प्रहरी फोर्सबाट भागेमा,
(ङ) सेण्ट्री भै पालो बसेको ठाउँमा सुतेमा वा नियमित बदली नआई बिना इजाजत छाडेमा,
(च) नियमित बदली नआई वा बिना इजाजत आफ्नो गारद, पिकेट, टोली वा प्याट्रोल छोडेमा,
(छ) आफूलाई नियुक्त गर्न अख्तियार पाएका अधिकारीको इजाजत बिना राजीनामा गरेमा वा आफ्नो पदको कर्तव्य पालन गर्न छाडेमा,
(ज) सेण्ट्रीलाई कुटेमा वा जबरजस्ती गरेमा वा गर्न उद्योग गरेमा,
(झ) गारद, पिकेट, प्याट्रोलको कमाण्डमा छँदा रीतपुवर्क बुझाएको कैदी वा व्यक्ति बुझ्न इन्कार गरेमा, मनासिब अख्तियार बिना आफ्नो जिम्मामा रहेको कुनै व्यक्ति वा कैदीलाई छाडेमा वा लापरवाही गरी त्यस्तो कैदी वा व्यक्तिलाई भाग्न दिएमा,
(ञ) गिरफ्तार वा थुनिएका बखत छाड्न सक्ने अख्तियार पाएकोले नछाड्दै गिरफ्तार भएको वा थुनिएको ठाउँ छाडी गएमा,
(ट) रोग वा शरीरको निर्वलताको झुठो बहाना गरेमा वा भान पारेमा,
(ठ) आफ्नो कमान वा जिम्मामा रहेको व्यक्तिहरूको संख्या वा अवस्थाको वा त्यस्ता व्यक्ति वा नेपाल सरकार वा प्रहरी वा प्रहरी फोर्समा सामेल हुन आएको कसैको रुपैयाँ, हातहतियार, खरखजाना, लुगाफाटो, सरसामान वा अन्य मालसामानको झुठ्ठो फाँट वा प्रतिवेदन जानीजानी पेश गरेमा वा खराब मनसायले वा जानीजानी बात लाग्ने लापरवाहीबाट माथि लेखिएका विषयको फाँट वा प्रतिवेदन तयार गर्न वा पठाउन छुटाएमा वा इन्कार गरेमा,
(ड) राजनैतिक उद्देश्यले संगठन गरिएको सभा, जुलुस वा प्रदर्शनमा भाग लिएमा, भाषण गरेमा, नारा लगाएमा वा वक्तव्य दिएमा,
(ड१) लैङ्गिक हिंसा गरेमा,
(ढ) आफ्नो ओहदाको धाक धम्की दिई कसैलाई अनाहक दुःख र टण्टा दिएमा वा कसैको सम्पत्ति हानी नोक्सानी गरेमा ।